Skip to main content

अक्षरमार्ग

उमेदवार

कस्तो के ! यी मान्छेका रीतिथिति देखेर दिक्क लाग्छ । कन्सिरी तातेर आउँछ भन्या ! सक्रिनाले मनकाे तिताे पाेखिन् ।
किन,के भाे र त्यस्तो ! चलिआएको रीतिरिवाज नै तिताे लाग्ने ? अकुरले साेधे ।
हेर न, बिहे गर, बिहे गर भनेर बाआमा, हजुरबाआमा हुँदा हुँदा अब त नातागोता धेरैको कुरा गर्ने विषय नै बिहे अनि लाग्दैन त दिक्क ? सक्रिनाले समस्या देखाइन् ।
गरिदेन त बिहे ,उमेर भयाे, गर्नुपर्नेछ, यसमा दिक्क मानेर अभिभावककाे मन किन कुँड्याउने ? अकुरले सहज ठाने ।
अँ, अब तँ पनि त्यै भन्, बिहे गर्न त्यति सजिलो छ, भनेजस्तो उमेदवार चािहएन ? यत्तिकै हुन्छ बिहे, भन्दा बित्तिकै ? सक्रिना झर्किन् ।
के त तैंले अहिलेसम्म खाेजेकी छैनस् आफ्नो उमेदवार ? आफै व्यवस्था मिलाउनुपर्दैन त ! अकुरले आफ्नो काम आफै गर भने ।
हाे, त्यति सजिलो छ नि, देखेको छैनस् आज बिहे भाेलिदेखि अदालत ! साँच्चै भन्ने हाे भने त मलाई गर्नै मन छैन ।
त्यसाे नहाेस् भनेर त आफै खाेजेर गरिहाल भन्या नि ! गर्दै नगर्न त सम्भव नहाेला नि । अकुरले प्रस्ट्याउन खाेजे ।
हेर् न प्रत्येक परिवारमा कलह, साँझ बिहानै भाँडभैलाे ! नजिकैको आफन्त रे श्रीमान् श्रीमती रातदिन झगडा देखेर वाक्क भाकी नि । सक्रिनाले वैवाहिक सम्बन्धकाे बेथिति काेट्याइन् ।
हँ, के- के साेचेकी ! हुन त हाे तर नभई नहुने सम्बन्ध पनि बिहे नै हाे नि ।
हेर् त अहिले पाे ठिकै छ पछि बुढेसकालमा साथ चाहिएन ? अकुरले विवाह जीवनकाे आवश्यकता हाे भने ।
कुराे त ठिक हाे तर अनिवार्य जस्तो बिहेको सम्बन्धमा यस्तो दरार किन केका लागि ? समझदारी पटक्कै देखिदैन । लाेग्नेस्वास्नीकाे कलहले छाेराछाेरीकाे भविष्यकाे दियाे निभाइदिने ? कस्तो चाल नपाका ? हाम्रो मुर्ख्याइँले परिवार र समाज समेत पीडित बनेको यथार्थ ! सक्रिनाले सामन्य ठानिएको तर जीवनमा गम्भीर असर पारिरहेको तर्क दिइन् ।
ओहाे ! याे त जति काेट्यायाे उति जटिल ! यति धेरै नसाेच, हुँदै जान्छ टर्दै गर्छ । मलाई त आमाले भन्नुभाथ्याे माथिबाटै जाेडी बनाइदिएको हुन्छ । त्यहाँ बनेको जाेडी यहाँ मिल्ने हाे, जुरेकाे पाइन्छ, नजुरेकाे बल गरेर पाइँदैन । अकुरले आमाको सन्दर्भ जाेडेर भाग्यवादी तर्क दिए ।
ए, है ! उसाे भए त माथि पनि हेराफेरी ! नक्कली र सक्कली व्यवसाय चल्दाे रहेछ हाे ? सक्रिनाले बेथिति ईश्वरकहाँ झन् धेरै हुनेरहेछ कि क्या हाे ! शङ्काकाे सुविधा लिइन् ।