अक्षरमार्ग

प्रतापको देशमा

सुरेन्द्र अस्तफल

प्रिय प्रताप
हामी तिमीलाई सम्झिरहेछौँ यतिबेला
तिमीले चलाएको गाईजात्रा
अब वर्षको एकदिन मात्र रहेन नेपाल खाल्डोमा
बर्सैभरि हरेक दिन
हरेक रात
बेला, कुबबेला
भोगिरहेछौ हामी गाईजात्रा
देखिरहेछौँ हामी गाईजात्रा ।

प्रिय प्रताप
अहिलेको नेपाली गाईजात्रामा
सिँगारिदैनन् गाईहरू
टाँसिदैनन् छातीमा
मृतकका सम्झनाहरू
जिउँदा मान्छेहरू
मरेका मान्छेहरूको मुकुन्डो लगाएर
मनाइरहेछन् गाईजात्रा
सक्नेहरू बनेर अङ्गुलीमाल
अभिनय गरिरहेछन् गाईजात्राको ।

प्रिय प्रताप
अब तिम्री प्राणप्यारी रुक्मिनीको
वेदनाको आगो निभाउन
चक्रवर्तेन्द्रको शोकमा
न रानीरोखरी बनाउनुपर्छ
न गाईजात्राको
बर्से नाटक रचाउनुपर्छ
अहिले त
सत्ताको भोगले जन्माइरहेछ गाईजात्रा
सत्ताको रापले जन्माइरहेछ गाईजात्रा
तिम्री रानी रुक्मिनी भएकी भए आज
भन्ने थिइन् यतिबेला
प्रिय प्राणनाथ
भो अब शोकको गाईजात्रा बन्द गर ।

प्रिय प्रताप
अहिलेको गाईजात्रामा
उही सदनमा कुर्लन्छ
उही सडकमा डुक्रन्छ
उही बालुवाटारमा आसन जमाउँछ
उही सिंहदरबारमा शासन जमाउँछ
उही सर्वहाराको मुक्तिदाता
उही होली वाइनको सृष्टिदाता
खाएर सधैँसधैँ
मार्सी चामलको भात
बाँडिरहेछ गरिबहरूलाई उधारा सपना
सत्तापक्ष पनि उही
विपक्ष पनि उही
दिन पनि उही
रात पनि उही
गज्जबको गाईजात्रा चलिरहेछ नेपाल खाल्डोमा ।

प्रिय प्रताप
तिमीले चलाएको गाईजात्रा
अहिले सत्ताको रोइलो भएको छ
हामीले ल्याएको गणतन्त्र
अहिले मकैको खोइलो भएको छ
श्रीपेचबिनाका महाराजहरू
हरेक दिन बुट बजार्दै
राजधानीबाट कटुवाली गरिरहेछन्
उतारिरहेछन् शरीरका वस्त्रहरू
बनेर हजार जिभ्रा भएका शेषनागझै
सगौरव भनिरहेछन्
म नै राष्ट्र हुँ
म नै सृष्टि हुँ
म नै दृष्टि हुँ ।

प्रिय प्रताप
विधानले पुगेन हामीलाई संविधान बनायौँ
प्रजातन्त्रले पुगेन हामीलाई गणतन्त्र बनायौँ
अञ्चलले सुनेन हामीलाई प्रदेश बनायौँ
यतिबेला नेपाल खाल्डोमा
थरीथरीका रूप बोकेर
थरीथरीका रङ पोतेर
बुँख्याचा तालमा नाचिरहेछन्
गाईजात्राका नवीन संस्करणहरू
मिचिएर विधिको शासन
बजिरहेछ निरङ्कुशताको दुन्दुभी
अब केही त बोल प्रताप
कि गाईजात्राको पुरानो खेल बन्द गर
कि गाईजात्राको नयाँ खेल बन्द गर
एउटै देशमा
दुई खाले गाईजात्राको के अर्थ हुन्छ र ?

प्रिय प्रताप
अहिलेको गाईजात्रामा
उही सदनमा कुर्लन्छ
उही सडकमा डुक्रन्छ
उही बालुवाटारमा आसन जमाउँछ
उही सिंहदरबारमा शासन जमाउँछ
उही सर्वहाराको मुक्तिदाता
उही होली वाइनको सृष्टिदाता
खाएर सधँैसधैँ
मार्सी चामलको भात
बाँडिरहेछ गरिबहरूलाई उधारा सपना
सत्तापक्ष पनि उही
विपक्ष पनि उही
दिन पनि उही
रात पनि उही
गज्जबको गाईजात्रा चलिरहेछ नेपाल खाल्डोमा ।