Skip to main content

अक्षरमार्ग

कुरा खेतीकाे बाेलबाला

अचेल कति मजाकाे समय
धित मारेर कुरा काट्न पाइन्छ
चिया पसल, छतका घाम
बगैंचाका सुन्तला र बदामसँग
क्या स्वादका कुरा !

यी कुराले जीवनलाई के दिए र दिन्छन् ?
याे हेक्का राख्नेले राखून् मलाई चाहिएन
म त मनभरिने गरी कुरौटिने हाे यसैमा स्वाद छ
जति पनि कुरा गर्न खर्च नलाग्ने भएसी किन हच्किने ?
काट्ने मज्जाले काट्ने नि कुरा न हाे
अवैध खाताकाे पैसा काटिने हाेइन !

नारद मनसरा शकुनि कुरैका प्रसिद्ध चरित्र
पँधेराकाे रमाइलो , छिमेकी ऐंचाेपैंचाे कुराकै देन
चुनावी नारा जनतालाई सहारा कुरै त हुन्
बाटाेघाटाे, शिक्षा ,स्वास्थ्य सुविधा पुलपुलेसा
कुराले पुर्‍याउन जान्नेले हाे चुनाव जित्ने
सफलता हत्याएर माेटाएकाे उपलब्धि
देखेपछि पनि कुरा नकाटी बस्ने काेही मूर्ख छ ?

सज्जनकाे काम उपलब्धि पछ्याउने हाे
ढुक्क पछ्याउँछु म पनि पहिल्यैदेखि
निरन्तर पछ्याउँदै आएको हाे कुरा पुराण
याे मर्म कसले नबुझेको छ र !

लौ, जुटौं कति काट्नुछ काटौं कुरा
१ पटक, २ पटक, ३ पटक पटक पटक
के प्राप्त भाे कुराले ? नखाेजी काटौं फेरि फेरि काटौं
भन्न त हुँदैन , तिमीसित मात्र खुसुक्क हाे
भन्दै जाऔ,भनौं केही थपौं, थप्दै जाऔ
कुरा न हाे काम गर्नु छैन गर्ने कुरा हाे
उसकाे उसले उसको उसले कुरा त हाे
जसले जसकाे जति काटे पनि नसकिने कुरा
विषय नयाँ हाेइन शैली नयाँ भए पर्याप्त हुने
आज मसित उसका कुरा भाेलि ऊसित मेरा कुरा
कुरा कुरै कुरा कति रमाइलो कुरौटे जीवन !

धेरैलाई मन पर्ने खेती हाे कुरा
आज काटिने भाेलिलाई राखिने
उनै कुरा उस्तै हिजो जस्तै
जति गरे पनि फरक नपर्ने
सधैँभरि पुगिरहने कुरा खेती
याे मिलिजुली काट्न मिल्ने साझा खेती
कुरौटे बजारमा बेच्न पाइने, सजिलै बिक्ने
लगानी गर्न नपर्ने , खनजाेत नचाहिने
बिउमलकाे खाँचो नहुने कति मजाकाे खेती !

सजिलो र उस्तै लाेकप्रिय छ याे कुराविधि
थकाइ नलाग्ने पसिनाले नसताउने सन्चसुविस्ताले
गरिरहन मिल्ने गजबको खेती कुरा
आमदानी नदिएर के भाे त ! समयबाहेक
खर्च पनि क्यै छैन ! दिमाग पनि चाहिएन
नैतिकता विवेक इमान आवश्यक नपर्ने
अलिकति मरमसला थप्न जाने पर्याप्त हुने
यस्तो मजाकाे कुरा खेती नगरेर बस्छ
नयाँ नयाँ उन्नति खाेज्ने सचेत मान्छे ?

याे परम्पराले तान्दै ल्याएको वैदिककालीन
कुराखेती सिकाउने चर्चित ऋषि
देवर्षिलाई भित्रैदेखि धन्यवाद छ !
धेरैले धेरैतिरबाट काटिरहेकाे कुरा
जानिफकारहरूकाे त झन् मलिलो अभ्यास हाे
भएनभएको कुरा खेती यताबाट
उता पुर्‍याउन खप्पिस कुराबहादुरहरूका
सन्तान हामी कुरैसँग रम्ने हाे, रमिरहेकै छौँ

पूर्वज आफन्त छरछिमेकी सबैले सबैको
ढुक्कले अनुसरण गर्न पाइने
नकसैलाई दुख्ने न त कतै घाउ लाग्ने
सर्वप्रिय कुरा खेतीकै बाेलबाला छ
तपाईं पनि आउनुहाेस्
सँग जुटौं मिलिजुली काटौं कुरा !