“भर्खरै यहीँ त उभिरहेकी थिइन्, एकाएक कहाँ गइन् होलिन् दिदी?” भर्याङ उक्लिँदै विकास बरबराउँदै मलाई हेरेर करायो।
“हो भन्या, तिम्री दिदीको बानी नै त्यस्तै! गएकी होलिन् नि असनतिर किनमेल गर्न,” दिदी चाहिँको बानी थाहा भएर नै मैले अड्कल लगाएर सालोलाई हेर्दै भनेँ।
“दिदीको बानी त त्यस्तै हो। अब घण्टौँ फर्किन्नन् होला। एउटा सामान किन्न पनि तोलमोल गर्न धेरै समय लगाउँछिन्।” आफ्नो दिदिको नानी देखि लागेको बानीको आदत भने बिकासलाई थाहा नभएको त हैन। आज बिकासको नयाँ घरको पुजा थियो। हामी पनि आजै फर्किने गरि बिहानै आएका थियौ। घरमा छोरी रिया मात्रै थिइन।
यता पाहुनाहरुलाई प्रसाद दिने र रेखदेख गर्नको लागि भर्खरै देखेको दिदि आफू सामु नदेख्दा विशाल अलि हडबडाउँदै थियो।
“एक्लै गएकी हुन् कि क्या हो?” मैले सोधेँ।
“खोइ! सानी पनि छैन भन्छे शुषमाले,” विकासले सुनायो। सुषमा बिकासको श्रीमती थिइन।
“ल, म यसो असन–त्यौडतिर गएर चाँडै फर्काएर ल्याउँछु तिम्रो दिदीलाई,” भन्दै म बाहिरिएँ।
कमलादीदेखि नै दायाँबायाँ पसल चहार्दै म रियाकी ममि यानी कमलालाई खोजिरहेँ, तर भेटाउन सकिरहेको थिइनँ। केहीबेरमै असनचोक पुगेँ। अब कुन बाटो मोडिने भन्ने अन्योल भयो। एकातिर त्यौड, बाँगेमुढा, इन्द्रचोक; अर्कोतिर महाबौद्ध जाने गल्ली।
म महाबौद्धतिर लागेँ। उता सस्तो चिनियाँ सामान पाइने भएकाले सायद कमला उतै गएकी हुनुपर्छ भन्ने अनुमान गरेँ। चैतको समय भएकाले खासै भीड थिएन। महानगरले सडकपेटीमा पसल राख्न नदिएपछि बाटो केही खुला पनि देखिन्थ्यो।
त्यत्तिकैमा सडकको एक कुनामा नाङ्लोमा अदुवा–लसुन बेचिरहेकी एउटी महिलामाथि मेरो नजर पर्यो। नजिक गएँ। चिनेजस्तो लाग्यो। नभन्दै, उनी त हाम्रै गाउँकी माला रहिछिन्।
उनले पनि मलाई चिनेझैँ गरी हेरिन्।
“गोपाल दाइ होइन?” उनले सोधिन्।
“हो नि, चिन्यौ मलाई?” मैले मुस्कुराउँदै भनेँ।
घिउरङको सेतो वस्त्र र निधारमा मेटिएको सिन्दूर देखेर म झस्किएँ। मालालाई नदेखेको झन्डै दस वर्ष भएछ। विवाहपछि उनी काठमाडौंमै बस्न थालेकी रहिछिन्।
…
“अनि तिम्रो यो हाल? ज्वाइँ बितेको कति भयो?” मैले सोधेँ।
“पोहर साल भदौमा… आठ महिना भयो। सानो सुबास र मलाई छाडेर सधैँका लागि जानुभयो,” उनी भक्कानिँदै भनिन्।
कुरा गर्दै जाँदा उनले आफ्नो जीवनको कथा सुनाइन्। वर्षौँदेखि मनभित्र थन्किएको पीडा पोखिरहेकी थिइन् उनी। म केवल सुनिरहेँ। अनि उनिभित्र समयका छालले दुखित बनाएका जीबनका पाताहरु छरपरस्त आँखामा देखें। सानैमा हामी एउटै गाउँकै थियौं। हाम्रो सम्बन्ध दाजु र बहिनीको थियो। उ बेला पनि केही भयो कि माला मलाई नै हार गुहार माग्ने गर्थिन। पछि समयको चक्रले हाम्रो परिवार गाउँ छाडेर यता शहरतिर आएका थिए।
मालाको पिडादायिक बह सुनेर मन भारी गर्दै विदा लिएर म अघि बढेँ।
केही पाइला मात्र हिँडेको थिएँ, पछाडिबाट आवाज आयो—
“ए बूढो, पर्खनुस् न!”
मुण्टो फर्काउँदा कमला दुई हातमा झोला बोकेर उभिएकी थिइन्। सानीले पछ्यौराको टुप्पो समातेर मिल्कबार खाइरहेकी थिई। मैले दगुरेर कमलाको एक हातको झोला लिएँ।
“तिमी कता गएकी भन्दै बिकाश कराईराको छन छिटो जाउँ” भन्दै सानीलाई हातले दोहर्याउँदै हामी बिकासको घर पुग्यौं।
बेलुकीको भोज खाईसकेर बिकाससंग बिदा लिंदै हामी आफ्नै घरतिर हान्यौं। बिचरा रिया अबेर सम्म हामिलाई पर्खिरहेकी थिइन।
कमला त घर पुग्ने बित्तिकै थकाई लागेर हो कि घुप्लुक्क निदाई हालिन।तर त्यो रात मलाई निद्रा लागेन।
बारम्बार मालाको अनुहार आँखाअघि आइरह्यो।
बिहे भएकै वर्ष उनका श्रीमान् हिरा आर्थिक अवस्था सुधार्ने सपना बोकेर विदेश गएका रहेछन्। गाउँमा वैदेशिक रोजगारीको लहर चलेको थियो। उनका दौंतरी साथीहरु पनि बिदेशिएका थिए ।साथीहरूले कमाएको देखेर उनी पनि उत्साहित भएका थिए। आफ्नो गरिबिले पिल्सिएका आमा र परिवारलाई राहत दिन हिराले गाउँ छाडेका थिए। त्यो बेला सुबास मात्र दुधे बालकका थियो।
वर्षौँको संघर्षपछि घरमा केही उज्यालो पस्न थालेको थियो।
तर गएको भदौमा हिराले घर फर्कने खबर सुनाएको दुई घण्टापछि अर्को खबर आयो—हिरा मृत भेटिए।
के भयो? किन भयो? त्यो प्रश्नको जवाफ कसैले दिएन।
विदेशी भूमिमा भएको घटनाको सत्य कहिल्यै परिवारसम्म आइपुगेन।
छ दिनपछि हिराको शव बाकसभित्र बन्द भएर घर आइपुग्यो।
मालाका सपना पनि त्यही बाकसभित्र बन्द भएर आए।
केही महिनामै बुढी सासुको पनि निधन भयो।
ऋण बाँकी थियो। घर चलाउनुपर्ने थियो।
छोरालाई हुर्काउनुपर्ने थियो।
त्यसपछि मालाको जीवन असनका गल्लीहरूसँग गाँसियो। आफ्नै बारीमा फलेका सागसब्जी, अदुवा, लसुन बोकेर बिहान शहर आउनु र साँझ फर्कनु उनको दैनिकी बन्यो।
एकातिर श्रीमान् गुमाएको पीडा, अर्कोतिर ऋणको भार र समाजको टेढो दृष्टि। तर उनी हारिनन्।सुबासको अनुहारमा उनले हिराको मुस्कान देखिरहिन्। त्यही मुस्कानले उनलाई बाँच्ने शक्ति दियो।
आँसु लुकाएर हाँस्न सिकिन्। दुःखलाई साथी बनाएर अघि बढ्न सिकिन्। आज पनि उनी असनका गल्लीमा अदुवा–लसुन बेच्दै भविष्यको सपना किनिरहेकी छिन्— आफ्ना लागि होइन, सुबासका लागि। अचानक म झसङ्ग भएँ।
म सपनाबाट ब्युँझिएँ कि सम्झनाबाट, छुट्याउन सकिनँ।
तर त्यो कुनै कथा थिएन।
त्यो त मालाले मलाई सुनाएको जीवनको सत्य थियो।
वर्षौँदेखि मनभित्र दबिएको पीडाको बह उनी मलाई पोखेकि रहिछन सायद उनी आँसु झारेर मनलाई हलुको बनाउन खोजिररहेकी जस्तो लाग्छ।