Skip to main content

अक्षरमार्ग

धनवर्षा

हाकिमले पालैपालो फोनमा उनीहरुको सातो खाए !
केही क्षणपछि उनको मोबाईलमा संकेत घण्टी बज्यो ।
उनले मोबाईल हेरे । उनको मुहारमा चमक आयो ।
श्रीमतीले सोधिन्, “के को नोटिफिकेसन आएको रहेछ ?”
हाकिमले उत्तर दिए, “हेरन आजभोलि काम दिएपछि उनिहरुलाई सम्झाउनै पर्ने ! फोन गरेर झपारेपछि त्यो स्टेसनरीवालाले खातामा बल्ल पैसा हालिदियो ।”
पतिको कुरा सुनेर श्रीमती पनि उज्याली भईन ।
त्यसैबेला उनको मोबाईलमा टुङ् टुङ् टुङ् नोटिफिकेसनको ओईरो लाग्यो । चारै तिरबाट पैसा बर्षीयो ।
दुबै जोईपोई फुरुङ्ग भए ! मुखामुख गर्न थाले ।
एकछिनपछि श्रीमतीले भनिन्, “खै अब त बज्नै छोड्यो त मुहान सुक्यो कि क्या हो ?”
यी त सब खुद्रे घण्टी हुन्, एउटा सबैभन्दा ठुलो घण्टी त अझै बज्नै बाँकी छ, खै किन नबजेको हो ? त्यसलाई पनि नथर्काई भएन !” भन्दै हाकिमले फोन लगाई हाले ।
“के हो भाइ, फेरि फेरि पनि काम गर्ने बिचार छैन कि क्या हो ? पैसाले पुगेकै हो त? खै हाल्नु पर्दैन पैसो ? कति मोबाईलमा कान थापेर बस्नु ? झन यत्रो ठुलो प्रोजेक्ट तपाईँको होटलमा पारिदिएको छु !”
यताबाट होटल साहुजीको प्रतिउत्तर आयो, “सर, यो ‘अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस’को कार्यक्रम हाम्रो होटलमा राख्नु भएकोमा हजुरलाई धन्यवाद छ । अनि यो भ्रष्टाचार बिरुद्धको कार्यक्रमको पनि हजुरलाई कमिसन छुट्याउनु पर्ने हो र ?”

२०८२ मंसिर २९

पनौती, काभ्रे,  हाल: कपन, काठमाडौँ ।