अक्षरमार्ग

मुस्कुराउँदै थुङ्गाहरू

कति धेरै पन्छीहरू
वल्लाे हाँगा पल्लो डाली
चिरबिर चिरबिर सङ्गीतमय पन्छी संसार
झ्वाम्म हरियाली नवपालुवाहरू
काेइलीकाे कुहूकुहू अग्ला रुखहरू
स्वच्छ हावा बाँडिरहन्छन् शीतल

सुसेलिन्छन् वनसम्पदाहरू
वसन्त बहार पछ्याउँदै
बिरुवा गाेडमेलकाे जाँगरले
जुरुक्क उठाएका पाइलाहरू
फक्रिने अभ्यासमा जुटेका काेपिला

मनका कुना कुनाहरू छाम्दै
ढकमक्क बगैंचाका पाटाहरू
मुस्कुराउँदै छन् थुँगाहरूसँग
स्वस्थ जीवन जतनका सक्रिय वनस्पतिहरू
यी हावापानीका मुहानहरू
संरक्षणकाे रहर पालेकाे
सफा वातावरणीय जमघट

जिम्मेवारी निर्वाहमा समर्पित
मनहरूकाे कदर गर्छ मस्तिष्क
हाँसिरहेकाे छ प्रकृतिमा
मानवीय संवेदना भरेर भेट्नु छ
समताकाे विश्वासले सुमसुम्याउँदै छ
सहृदयी मनहरू ।