एक्कासि म सपनाबाट बिउँझिएँ। पलङबाट जुरुक्क उठेर सोफामा थचक्क बसें। निधार छाम्दा खलखल पसिना बगिरहेको थियो। सम्झँदा पनि आङ सिरिङ हुन्थ्यो।
हामी बसको छतमा बसेर यात्रा गरिरहेका थियौँ। उकाली–ओराली, भीर–पाखा, पखेरा र गुराँसले राताम्मे बनेका डाँडाहरू हेर्दा हाम्रा आँखा लोभिएका थिए। हामीबीच गहिरो आत्मीयता थियो। बस आफ्नै गतिमा गुडिरहेको थियो।
अचानक बसको पाङ्ग्राले जमिन छाडेजस्तो महसुस भयो। म ठूलो स्वरले चिच्याएँ। उनी बसको छतबाट उछिट्टिएर तल भीरतिर गुल्टिँदै गएको देखेँ। त्यसपछि सबै कुरा अँध्यारो भयो। त्यसपछिको केही पनि मलाई याद रहेन।
झसङ्ग बिउँझिएँ।
लामो सास फेरें। आखिर मसँग बसको छतमा बसेकी ती युवती को थिइन्? त्यो प्रश्नले मनमा अनगिन्ती तरङ्ग उठाइरहेको थियो। तर मैले कसैसँग पनि यसको चर्चा गरिनँ।
कति पटक त्यो सपनालाई बिर्सन खोजें, तर सकिनँ। बरु त्यो झन् रहस्यमय पर्दाजस्तै मेरो मनमा फैलिँदै गयो।
दुई वर्षदेखि म चरिकोट बजारस्थित नेपाल बैंकको शाखा कार्यालयमा कार्यरत थिएँ। दशैँको बिदामा घर फर्कँदै थिएँ। माथिल्लो डाँडोबाट ओरालो झर्दै आएको सुमो खाँडी बजार पुग्दा दिउँसोको बाह्र बजिसकेको थियो।
सुमो त्यहीँ रोकियो। भोक लागेकोले म नजिकैको एउटा होटलमा पसेँ।
“चिकेन कि माछा राखौँ खानामा?” काउन्टरबाट बाहिर निस्केकी एउटी युवतीले मुस्कुराउँदै सोधिन्। सायद उनी होटल मालिककी छोरी थिइन्।
“माछा नै राखिदिनुस्।”
“हुन्छ,” भन्दै उनी भान्सातिर लागिन्।
म हात धुन धारातिर गएँ।
खाना खाइसकेपछि काउन्टरमा पुगेर बिल सोधेँ।
“चार सय पचास रुपैयाँ भयो,” उनले विनम्र मुस्कानसहित भनिन्।
मैले पैसा तिरेँ। बाहिर निस्कन लाग्दा उनले फेरि मुस्कुराउँदै भनिन्,
“फेरि पनि आउँदै गर्नुहोला। नमस्ते।”
उनको आत्मीय व्यवहार र ग्राहकप्रतिको सम्मानले मलाई छोयो। मैले उनलाई एकटक हेरेँ। कताकता उनलाई पहिले पनि देखेजस्तो अनुभूति भयो। कुनै भावनात्मक आकर्षणभन्दा पनि उनका आँखाले मेरो मनभित्र कतै गहिरो परिचय खोजिरहेको जस्तो लाग्यो।
तर मनलाई सम्झाएँ। सुमोमा चढेँ। केही बेरपछि सुमो काठमाडौंतर्फ लाग्यो।
छोरो रेशम, तेरो बिहे गर्ने उमेर पनि भइसक्यो। अब त बिहेको बारेमा सोच्नुपर्छ नि,” आमाले स्नेहपूर्वक भन्नुभयो।
“अहिले किन यति हतारिनुभएको, आमा?” मैले हल्का मुस्कुराउँदै भनेँ।
“दुई–तीन वर्ष त भयो जागिर खाएको। अलिकति आर्थिक रूपमा बलियो बनूँ, त्यसपछि बिहेको कुरा सोचौँला।”
आमाले मेरो अनुहारतिर हेर्दै फेरि भन्नुभयो,
“तँ त जागिरे मान्छे, सधैँ घरबाहिर। म यहाँ एक्ली हुन्छु। मेरो पनि बुहारी भित्र्याउने रहर छ, रेशम।”
म सानै हुँदा बुबाको निधन भएको थियो। आमाले दुःख–सुख सहँदै मलाई हुर्काउनुभएको थियो। अहिले म आफ्नै खुट्टामा उभिन थालेको थिएँ, त्यसैले आमाप्रतिको जिम्मेवारी मेरो काँधमा थियो।
“हुन्छ, आमा,” मैले शान्त स्वरमा भनेँ, “चरिकोटबाट फेरि कतै सरुवा हुन सक्छ। यदि धेरै टाढा पठाए भने बिहेको कुरा सोच्नुपर्ला। तपाईंलाई पनि यो उमेरमा एक्लै छोड्न मिल्दैन।”
यस्ता आत्मीय संवादहरू हामीबीच बेलाबेला भइरहन्थे। अभाव र संघर्षका बीच पनि हाम्रो जीवन सन्तोषपूर्वक अघि बढिरहेको थियो।
गत वर्ष मेरो सरुवा नगरकोट भएको थियो। त्यहीँ एउटा सानो कोठा भाडामा लिएर बस्न थालेको थिएँ। शनिबार र आइतबारको बिदामा मात्र घर आउने गर्थें।
त्यो पनि शुक्रबारको साँझ थियो। कार्यालयको काम सकेर घर पुग्दा झमक्क साँझ परिसकेको थियो।
घर पुगेपछि आमाले खुसी हुँदै भन्नुभयो,
“छिमेकी सानीआमाको नातामा पर्ने एउटा केटीसँग तेरो कुरा चलाएको छु। आउँदो शनिबार भेट्ने कुरा मिलेको छ।”
मैले केही प्रतिक्रिया जनाइनँ। आमाको खुसी नै मेरो मौन स्वीकृति बन्यो।
शनिबार आयो।
हामी आमनेसामने बस्यौँ।
उनलाई देख्नेबित्तिकै म स्तब्ध भएँ।
उनी त खाँडी बजारको त्यही होटलकी युवती पो रहिछिन्।
एकछिनका लागि मेरो मन फेरि त्यही सपनातिर दौडियो। उनका ती परिचित आँखा देख्दा मनभित्र अनौठो कम्पन उठ्यो। मैले आफूलाई धेरै सम्झाएँ—’सपना त सपना मात्र हो। त्यसलाई यथार्थसँग जोडेर जीवनका निर्णय गर्नु उचित हुँदैन।’
मैले मनलाई स्थिर बनाएँ।
आखिर, विवाहको प्रस्तावमा मेरो पनि सहमति भयो।
मेरो निर्णयले आमा अत्यन्त खुसी हुनुभयो।
केही समयपछि हाम्रो विवाह सम्पन्न भयो।
उनको नाम शुषमा थियो।
विवाहपछि शुषमा विस्तारै मेरो जीवनको अभिन्न अंश बन्दै गइन्। सुख–दुःखका प्रत्येक मोडमा उनी मेरो साथमा उभिइन्। उनको शालीन स्वभाव, मधुर बोली र परिवारप्रतिको सम्मानले आमा पनि अत्यन्त सन्तुष्ट हुनुहुन्थ्यो।
समय आफ्नै गतिमा बगिरह्यो। जीवनले पनि विस्तारै नयाँ मोडहरू पार गर्दै अघि बढ्दै गयो।
कालान्तरमा जीवनले बिस्तारै नयाँ कोल्टे फेरिरहेको थियो।
एक रात अचानक मलाई आँखाअगाडि सबै कुरा गोलाकार घुमिरहेको जस्तो लाग्यो। दृष्टि धमिलिँदै गयो। अनायास उठ्न खोजेँ, तर शरीरले साथ दिएन। कुनै भारी वस्तुले मलाई थिचिरहेको अनुभूति भयो। आकाश धुलाम्मे बन्दै गइरहेको थियो।
आँखा उघार्ने प्रयास गर्दा मेरो सामु बसको एउटा पाङ्ग्रा घुमिरहेको देखेँ। अलि पर रगताम्मे शरीर उत्तानो परिरहेको थियो। त्यो दृश्य देख्नेबित्तिकै म चिच्याएँ।
म घिस्रिँदै उनीतर्फ बढ्न खोजेँ, तर शरीरले साथ दिएन। सास क्रमशः क्षीण हुँदै गइरहेको थियो।
त्यत्तिकैमा उत्तानो परेकी ती युवतीले बिस्तारै टाउको उठाइन्। काँपिरहेको हात मेरोतर्फ बढाउँदै केही भन्न खोजिरहेकी थिइन्। उनका ओठ चले पनि आवाज मेरो कानसम्म पुग्न सकेन।
म असहाय भएर उनको अनुहार हेरिरहेँ।
बिस्तारै मेरो आँखाअगाडि अन्धकार छाउँदै गयो।
“शुषमा…!”
भन्न खोजेँ, तर शब्दहरू घाँटीमै अड्किए।
झसङ्ग बिउँझिएँ।
हडबडाउँदै छेउतिर हेरेँ। शुषमा मेरै छेउमा निश्चिन्त निदाइरहेकी थिइन्। उनको शान्त अनुहार देख्नेबित्तिकै मैले गहिरो सास फेरें। मनभरि जमेको डर बिस्तारै हराउँदै गयो।
सायद वर्षौँदेखि मेरो मनलाई पछ्याइरहेको त्यो सपना त्यही क्षण समाप्त भएको थियो।
मैले महसुस गरेँ—सपनाले कहिलेकाहीँ मनमा डर रोप्छ, तर जीवनलाई त्यसकै कैदी बनाइराख्न सक्दैन। वर्तमानको सत्य नै जीवनको वास्तविक आधार हो। भविष्यको आशङ्काभन्दा वर्तमानको विश्वास धेरै बलियो हुन्छ।
शुषमाले निद्रामै मेरो हात समातिन्।
“किन टोलाइरहनुभएको?” उनले आधा निद्रामै बिस्तारै सोधिन्।
मैले केही भनिनँ।
उनलाई आफ्नो अँगालोभित्र कस्सिएर बेरेँ। उनको न्यानो स्पर्शले मेरा सबै त्रासहरू बिस्तारै पग्लिए।
त्यो क्षण मैले विश्वास गरेँ—एउटा सपनाको अन्त्यसँगै मेरो जीवनले नयाँ बिहान रोजिसकेको थियो।