Skip to main content

अक्षरमार्ग

चश्माका रङ्गीन शीशाहरू

ध्रुव मधिकर्मी

केही छुटेको वा
हराएको के हो नबुझिकनै
तीब्र छ अचेल भव्यताका साथ खोज्ने क्रम
चालु छ अन्वेषणको विशाल यात्रा ।

घाम लागेको बेला
बादल खोज्नु र
बदलीको क्षण
घाम रोज्नुको अर्थमाथि
हुँदैछ यतिखेर महान शोधकार्य ।

बनाइएका विद्धान
र घोषित बुद्धिजीवीहरू
लम्किरहेको हात्ती नियाल्न छोडेर
भुक्दै गरेका कुकुरहरूको
राख्दैछन् व्यापक लेखाजोखा ।

वर्षौंदेखि
अनवरत बगिरहेका आँसु र रगतको नदीलाई
म देखाउन खोज्दैछु
तर
रङ्गीविरङ्गी चश्मा लाएका आँखाहरू
आँखा मिच्नु अगावै
पीडालाई थाती राखेर
बल्ल पुछ्न लाग्दैछन्
चश्माको शीशामा लागेका धुलोहरू ।

तिनको हातमा छ
निब नभएको कलम
र विना कागजमा
लेख्न खोज्दैछन् जीवनको सुन्दर भविष्य ।