Skip to main content

अक्षरमार्ग

फूल

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे

ए प्रिय फूलहरु मेरो आँगनीमा छपक्क फुल्नु ल!
कहिले मखमली,सयपत्री कहिले जाईजुई बनेर
कहिले पारिजात अनि भीरको लाली गुराँस बनेर
आउ तिम्लाई स्वागत गर्न म लालयित छु।

मलाई डर लागि रहेछ तिमी मेरै आँगनीमा फुल्दा
कुनै पापीहरुले कू-दृष्टी लाउँछ कि भनेर
कोपिलामै निमोठिदिन्छ कि भनेर
तरपनि नडराउ म छु सुरक्षाको कवच बनेर उभिनेछु
तिम्रै माली बनि बिहानदेखि बेलुकासम्म।

ए फूल तिमी मन्दिर जान खोजौली
म जान दिन्न
माला बनेर घाँटीमा झुण्डिन खोजौली
म लान दिन्न
तिमी रिसाउ या खुसाउ एक छिनको लागि
म मरि गएपनि पठाउँदिन,

तिमी घरको शोभा हौ,टोल,बस्तीको शोभा हौ
त्यति मात्रै कहाँ हो र देशकै शोभा हौ
त्यसैले त तिमी
राष्ट्रकै प्रतीक चिन्ह हुन पाएकी छ्यौ लाली गुराँस भई
ए फूल तिमी कति प्यारी छ्यौ सँसारकैे प्यारी
मनभरी फुलिदिन्छ्यौ
बनभरी फुलिदिन्छ्यौ
तिम्लाई हेर्न संसार आईपुग्छ
तिम्रो समीप
तिमी कति ठाउँमा लजाईदिन्छ्यौ
कति ठाउँमा बसाईदिन्छ्यौ
जो आउँछन् लठ्ठ हुन्छन्
बुझ्नेहरु सुस्त छुन्छन्

कहिले रातको रानी भई
कहिले कोमलताको खानी भई
कहिले काँडाहरु बीच फूलेर प्रेमको प्रतीक बन्छ्यौ
कहिले गन्धे पोखरीमा फुलेर आफ्नो महिमा चुल्याईदिन्छ्यौ

थाह छ तिमीलाई रहर थिएन होला
पलाँस बन्न
तिमीलाई रहर थिएन होला काँडाहरु बीच फुल्न
तर तिम्ले मात्रै चाहेर र म मालीले मात्रै चाहेर नहुने रहेछ
प्रिय फूल प्रकृतिको सृष्टिलाई
कहाँ नकार्न सकिदो रहेछ र!
तिमी जहाँ फुल्छ्यौ यसैगरी फुल्नु
संसारका प्राणीहरु तिमीलाई हेर्न लालयित
भईरहुन् यसैगरी सँधैभरी।